दिगो विकास लक्ष्य १६ प्लस र नेपाल
अनिल उपाध्याय :
दिगो विकास लक्ष्यहरू सन् २०१५ को सेप्टेम्बरमा संसारका १९३ वटा राष्ट्रहरूले संयुक्त रूपमा अङ्गीकार गरेका आवधिक विकासका दस्ताबेजहरू हुन् । संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको सहमतिमा अघि सारिएका १७ वटा लक्ष्यहरू सन् २०१६ को जनवरी १ बाट कार्यान्वयनमा ल्याइएको हो ।
दिगो विकास लक्ष्यहरू अन्तर्गत विश्वव्यापी रूपमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य २४४ वटा सूचक तय भएका छन् तर विश्वव्यापी रूपमा तय भएका विभिन्न ८ वटा परिमाणात्मक लक्ष्य अन्तर्गत तय भएका २१ वटा सूचकहरू मध्येमा ९ वटा सूचकहरू उस्तै प्रकृतिका र दोहोरिएका कारण दोहोरिन पुगेका ९ वटा सूचकहरू घटाउँदा १२ बाँकी हुन जान्छ जम्मा २३२ मा १२ जोड्दा २४४ हुन्छ । यसरी नेपालको सन्दर्भमा लक्ष्य १४ जलमुनिको जीवनबाहेक अन्य सबै लक्ष्यहरू अन्तर्गत २४५ वटा सूचकहरू थप भई ४७९ वटा सूचकहरू आधिकारिक रूपमा विद्यमान रहेको मानिन्छ । नेपालको सन्दर्भमा लक्ष्य १४ बाहेक अन्य सबै लक्ष्यहरू उत्तिकै महत्त्वपूर्ण र निर्णायक लक्ष्यका रूपमा लिइएको छ ।
विश्वव्यापी रूपमा दोहोरिएका विभिन्न ८ वटा परिमाणात्मक लक्ष्य अन्तर्गतका ९ वटा सूचकहरू यस प्रकार रहेका छन् ।
१. ८.४.१/१२.२.१
२. ८.४.२/१२.२.२
३. १०.३.१/१६.ख.१
४. १०.६.१/१६.८.१
५. १५.७.१/१५.ग.१
६. १५.क.१/१५.ख.१
७. १.५.१/११.५.१/१३.१.१
८. १.५.३/११.ख.१/१३.१.२
९. १.५.४/११.ख.२/१३.१.३
दिगो विकास लक्ष्यहरूको कार्यान्वयन समान रूपमा हुन सके सन् २०३० सम्म लिइएका उद्देश्य प्राप्तिका लागि महत्त्वपूर्ण आयामहरूमा उपलब्धि हासिल हुने देखिन्छ ।
यसै गरी दिगो विकास एजेन्डाले निर्धारण गरेका प्राथमिक महत्त्वका क्षेत्रहरू मुख्य गरी पाँच वटा रहेका छन् जसलाई (फाइभ पीएस) पनि भनिन्छ ।
- जनता(पिपुल)
- पृथ्वी (प्लानेट)
- समृद्धि (प्रोस्पटि)
- शान्ति (पिस)
- साझेदारी (पार्टनरसिप)
नेपाल सहित संयुक्त राष्ट्र सङ्घका १९३ वटै मुलुकहरूले यसमा सहमति जनाएका छन् । यसकारण दिगो विकास लक्ष्यहरूको राष्ट्रिय तथा स्थानीय रूपमा कार्यान्वयनमा विश्वका सबै मानिसहरूका प्राथमिकताका विषयहरू समान ढङ्गले समावेश छन् । यसकारण दिगो विकास लक्ष्य संसारका सबै मानिसहरूका लागि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक रहेका छन् ।
नेपालको सन्दर्भमा दिगो विकास लक्ष्य प्राप्तिका लागि लिइएका अवधारणहरू निम्नानुसार छन् ।
१. राजनीतिक गतिविधिहरूलाई संस्थागत गर्ने स्थायी र दिगो शान्ति कायम गर्ने ।
२. नेपाललाई सन् २०३० सम्म अदम्य उत्साह र युवाले भरिपूर्ण स्वच्छ र स्वस्थ मानिसहरूको बसोबास गर्ने स्थलको रूपमा विकास गर्दे ऊर्जाशील समुदाय द्वारा चलायमान व्यवसाय मैत्री, घट्दो निरपेक्ष एवम् मध्यम आय भएको देशको रूपमा स्थापित गर्ने ।
३. मुलुकको गतिलाई तीव्रता दिन सक्षम प्रशासनिक संयन्त्रमा जोड दिँदै ढिलासुस्ती हटाउने ।
४. नेपालको जैविक विविधतालाई आत्मसात् गर्दे यसबाट प्राप्त हुन सक्ने अवसरहरूमा ध्यान दिने ।
५. दुई ठुला मुलुकमाबीचमा अवस्थित हाम्रो मुलुकलाई आर्थिक संवृद्धिको सरोवरी सहकार्यमा दुवै मित्र राष्ट्रहरूसँग सहकार्य गरेर अघि बढ्ने ।
६. मुलुकलाई क्षेत्रीय स्तरमा र विश्वमै नयाँ ढङ्गले चिनाउन हरेक विधामा विश्लेषणात्मक सोंच, सृजनशीलता, व्यावसायिक सीप तथा प्रविधि र अनुसन्धानमा जोड दिने ।
७. सबैखाले लक्ष्यहरू हासिल गर्न दिगो शान्ति, भ्रष्टाचार मुक्त सबल संस्था तथा सुशासनयुक्त समाजको निर्माण गर्ने ।
दिगो विकास लक्ष्यर स्थानीयकरण
दिगो विकास लक्ष्यको स्थानीयकरण भनेको विश्वव्यापी सन्दर्भमा तय भएका दिगो विकास लक्ष्य अन्तर्गत परिमाणात्मक लक्ष्य र सूचकहरूलाई स्थानीय स्रोत र साधनअनुसार उपयुक्त ढङ्गबाट परिमार्जन गर्दे स्थानीय योजना बनाउँदा तिनीहरूको आन्तरिकीकरण तथा अन्तरघुलन कायम गराइ कार्यान्वयनमा ल्याउनु हो ।
नेपाल सङ्घीय संरचनामा प्रवेश गरीसकेको सन्दर्भमा तीन तहमा नेपालको राजनैतिक तथा प्रशासनिक संरचना स्थापित भई कार्यान्वयनमा आइसकेको अवस्था छ । मुलुकका यिनै तिनै संरचना अन्तर्गत राजनीतिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलन कायम गराउँदै दिगो विकासका लक्ष्यहरू हासिल गर्ने अपनाइने हाम्रो आफ्नै मौलिक प्रयासहरुनै दिगो विकास लक्ष्यको स्थानीयकरणका महत्त्वपूर्ण औजारहरू हुन् । यस सन्दर्भमा तिनै तहका जनताको जीवन स्तर माथि उकास्ने खालका वास्तविक कार्यनीतिहरू र तिनीहरूको सहज र सबल कार्यान्वयनबाट नै सरकारका तर्फबाट अगाडि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक हुन जानेछ । यसका लागि दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण अत्यन्तै जरुरी छ ।
दिगो विकास लक्ष्यको स्थानीयकरणका के का लागि?
१. दिगो विकासको अवधारणा र कार्यान्वयनमा स्पष्टता तथा एकरूपता ल्याउन ।
२. दिगो विकासमा सरोकारवालाहरूको सहभागिता तथा योगदान सुनिश्चित गर्न ।
३. स्थानीय स्रोत र साधनको सदुपयोग गर्दे थप सम्भाव्यताको खोजी गर्न ।
४. स्थानीय सीप र जनशक्तिको सदुपयोग गर्न।
५. स्थानीय सरकारको आर्थिक तथा प्रशासनिक रणनीति, बजेट तथा कार्यक्रममा दिगो विकासका आयामहरू स्पष्ट ढङ्गले समेट्न ।
६. दिगो विकासका लागि एकीकृत कार्यगत रणनीतिक योजना र आन्तरिकीकरण गर्न ।
७. स्थानीय स्रोत, साधन र आवश्यकता सुहाउँदो परिमाणात्मक लक्ष्य र सूचकहरू त्य गर्दै दिगो विकास हासिल गर्न ।
८. स्थानीय जन–प्रतिनिधिको इच्छाशक्तिमा थप अभिवृद्धि गर्दे दिगो विकास हासिलका लागि अपनत्व महसुस गर्दै अघि बढ्ने वातावरण सृजना गर्न ।
दिगो विकास लक्ष्य स्थानीयकरणमा चुनौतीहरू
१. पर्याप्त बजेटको अभाव ।
२. दिगो विकास लक्ष्यहरूमा स्पष्ट बुझाइ र सीपमा कमी ।
३. स्थानीय स्रोत साधनको पहुँच र उपयोगितामुखी कार्यक्रमको अभाव ।
४. संस्थागत पूर्वतयारी र बुझाइमा कमी ।
५. आधारभूत आवश्यकतामै केन्द्रित बजेट तथा कार्यक्रम ।
६. आफ्नै मौलिक कार्ययोजना र अपनत्व महसुस हुन नसक्नु ।
दिगो विकास लक्ष्य स्थानीयकरणमा अवसरहरू
१. स्थानीयहरूको जीवनस्तर माथि उकास्ने महत्त्वपूर्ण औजार ।
२. सबै खालका विभेदको अन्त्य गरी सम्मानजक बाँच्न पाउने वातावरण सृजना गर्ने आधार ।
३. क्षमता अभिवृद्धि तथा सामाजिक रूपान्तरणको माध्यम ।
४. ज्ञान, शिपर रचनात्मक गतिविधिमा प्रोत्साहन ।
५. राज्यका सबै तहहरू बिच आपसी समझदारी र पारस्परिकतामा वृद्धि ।
६. कसैलाई पनि पछाडि नछोड्ने मुलमन्त्रको सदुपयोग ।
७. स्थानीय समृद्धिलाई विश्वव्यापीकरण गर्ने अवसर ।
८. नागरिकका मौलिकहकहरुको कार्यान्वयनमा सहयोगी ।
९. परम्परागत, सीप, कला संस्कृतिको पुस्तान्तरणमा सहयोग ।
१० स्थानीय सीप र स्रोत साधनको सदुपयोगको अवसर ।
दिगो विकास लक्ष्यको स्थानीयकरणमा योगदानकर्ताहरु
१. स्थानीय सरकार ।
२. संयुक्त राष्ट्र सङ्घका निकायहरू ।
३.स्थानीय तहमा कार्यरत बहुपक्षीय सरोकारवालाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सङ्घ संस्थाहरू ।
४.निजी क्षेत्र ।
५. विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व, युवा तथा विद्यार्थी ।
६. आमसञ्चार माध्यम ।
७. स्थानीय समुदाय ।
दिगो विकाको स्थानीयकरणमा सहकार्यका आगामी कार्यदिशाहरू
१. सरकारको उच्च प्राथमिकतामा दिगो विकास कार्यान्वयन राखिनु ।
२. सम्पूर्ण नागरिकहरूको तहमा अपनत्वको भावना ।
३. सामाजिक संस्थाहरूको रचनात्मक र सहयोगी भूमिका ।
४. समयमै भरपर्दो तथ्याङ्कको सङ्कलन ।
५. आवश्यक बजेटको प्रबन्ध ।
६. सामुदायिक सहभागिता तथा साझेदारी ।
७. बहुपक्षीय सरोकारवालाहरूको सहभागिता ।
८. स्थानीय प्रतिनिधिको इच्छा शक्ति ।
९. दिगो विकासका लागि रणनीतिक योजनाहरूको उपयुक्त योजना ।
१० स्थानीयस्तरमा सम्भावना बोकेका उत्पादनमा जोड ।
दिगोविकास लक्ष्य १६ प्लस भनेको के हो ?
सर्वप्रथम संयुक्त राष्ट्र सङ्घीय विश्व महासङ्घ मञ्च(वल्र्ड फेडेरेसन अफ युनाईटेड नेसन्स एसोसियसन्स–डब्लूएफयूएनए) ले सन् २०१६ को अप्रिल २० मा लक्ष्य १६ सँग अन्तर सम्बन्धित अन्य लक्ष्यहरूको सम्बद्धता तथा परिपूरकका रूपमा आन्तरिकीकरण गर्ने क्रममा दिगो विकास लक्ष्य १६ प्लसको अवधारण अघि सारिएको हो । सन् २०१९ लाई दिगो विकास लक्ष्य १६ प्लसलाई विभिन्न अभियान सञ्चालन गरेर सम्पन्न गर्ने वर्षका रूपमा अघि सारिएको छ । दिगो विकास लक्ष्य १६ प्लस अन्तर्गत निम्न लक्ष्यहरूलाई समेटिएको पाइन्छ ।
लक्ष्य ४ : समावेशी, न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने ।
लक्ष्य ५ : लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाउने ,
लक्ष्य ८ : स्थिर, समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवर्द्धन गर्ने,
लक्ष्य १० : देश भित्र तथा देशहरूबीचको असमानता हटाउने
लक्ष्य १३ : जलवायु परिवर्तन र यसका प्रभावहरूसँग जुध्न तत्काल कार्य अघि बढाउने ।
लक्ष्य १७ : विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने ।
नेपाल र दिगो विकास लक्ष्य १६ प्लस
दिगो विकास लक्ष्य १६ प्लस मञ्चको गठन अनवरत रूपमा नेपालमा दिगो विकासका लक्ष्यहरू कार्यान्वयनमा काम गर्दे आएका सामाजिक अभियन्ताहरूको पहलमा सन् २०१९ को सेप्टेम्बर २५ मा भएको हो । विश्वभरि दिगो विकास लक्ष्य कार्यान्वयनमा आएको चौथो वार्षिकोत्सव अवसर पारेर यो साझा मञ्चको गठन भएको हो । यो मञ्चमा हाल विभिन्न विषयगत सत्रहरू अन्तर्गत आ–आफ्नो लक्ष्यमा काम गर्दे आएका ६५ वटा सङ्घ संस्थाहरू आवद्ध छन् । यस मञ्चमा संस्था, व्यक्ति र विज्ञहरू पनि सदस्यका रूपमा रहन सक्ने प्रावधान राखिएको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन) हाल यसको सचिवालयको भूमिका निर्वाह गर्दे आएको छ । दिगो विकास लक्ष्य अन्तर्गत विशेषगरी लक्ष्य १६ सँग प्रत्यक्ष रूपमा जोडिएका लक्ष्यहरू ४, ५, ८, १३, १६ र १७ मा काम गर्ने सङ्घ संस्थाहरू यस साझा मञ्चमा आबद्ध रहेका छन् । शान्ति, न्याय र समावेशीकरण नभई कुनै पनि अन्य लक्ष्यहरू हासिल गर्न सकिँदैन भन्ने उद्देश्य, भावना र मर्म अनुसार विश्वमा दिगो विकास लक्ष्य प्लसको अवधारणा ल्याइएको हो । नेपालको सन्दर्भमा पनि दिगो शान्ति, न्यायमा समान ढङ्गले सबैको सहज रूपमा पहुँच, समानता र समावेशीकरण, पारदर्शिता, मानव अधिकारको प्रत्याभूति, सामाजिक न्याय र पूर्ण लोकतान्त्रिक अभ्यास नहुन्जेल नागरिकका हक अधिकारहरू सुनिश्चित भएको आभास हुन सक्तैन भन्ने यथार्थलाई मनन गर्दे एक राष्ट्रिय अभियानकै रूपमा दिगो विकास लक्ष्य १६ प्लसको अवधारणालाई औपचारिक र प्रक्रियागत रूपमा अघि सारिएको हो ।
नेपालमा किन आवश्यक छ दिगो विकास लक्ष्य १६ प्लस ?
भर्खरै मात्रै लोकतान्त्रिक अभ्यासको स्थायी स्वरूपमा प्रवेश गरेको नेपाल जस्तो विकासशील मुलुकमा दिगो शान्ति, न्याय, मानव अधिकारको वास्तविक प्रत्याभूति, सामाजिक न्याय र समावेशीकरणका मुद्धाहरु कार्यान्वयनमा ल्याउने संस्थागत प्रयासहरू भइरहँदा अझै पूर्ण रूपमा स्थायी रूपले काम गर्न सक्ने अवस्थामा नआइसकेको साथै सामाजिक विभेद, आर्थिक विभेद र मनोवैज्ञानिक विभेद अझै समाजमा विद्यमान रहेकाले ती सबै पक्षहरूलाई सम्बोधन गर्न यस खालका अभियानहरू अत्यन्तै जरुरी भएको महसुस गरी दिगो विकास लक्ष्य १६ प्लसको अवधारणा अघि सारिएको हो । हामी अझै सामाजिक चेतना, मनोवैज्ञानिक चेतना र नागरिकका हरेक अन्य आधारभूत चेतनाको स्तर माथि उकास्न सकिरहेका छैनौँ । कतिपय कुरीतिका रूपमा, कतिपय सामाजिक अपराधका रूपमा, कतिपय राजनैतिक अपचलनका रूपमा समाजमा अन्याय, उन्मुक्ति र समान न्यायको अभाव खड्की रहेको अवस्थामा अझै नेपाली समाजलाई पूर्ण न्यायमा आधारित समतामूलक समाजको प्रत्याभूत गर्न र गराउने उद्देश्यका साथ दिगो विकास लक्ष्य १६ प्लसको अवधारणा र अभियानको थालनी भएको हो ।
के गर्छ त दिगो विकास लक्ष्य १६ प्लसले ?
दिगो विकास लक्ष्य १६ प्लस भन्ने बित्तिकै लक्ष्य १६ शान्ति, न्याय र सबल संस्थाहरू समेटिएको लक्ष्य र अन्य थप लक्ष्यहरू बुझिन्छ । लक्ष्य १६ मा प्लस वा थप भन्ने अर्थ अन्य लक्ष्यहरू जस्तै लक्ष्य ४ शिक्षामा समान पहुँच र सबैलाई गुणस्तरीय शिक्षा, लक्ष्य ५ लैङ्गिक समानता, लक्ष्य ८ सम्मानजनक काम र आर्थिक वृद्धि, लक्ष्य १० असमानता घटाउने, लक्ष्य १३ जलवायु परिवर्तनका असरहरूलाई कम गर्दे हाम्रो विश्वलाई जोगाउने र लक्ष्य १७ अन्तर्गत सबै लक्ष्यहरूको प्राप्तिका लागि श्रोत साधनहरूको सबलीकरण र साझेदारी गर्ने रहेको छ । यसकारण लक्ष्य १६ सँग प्रत्यक्ष सम्बन्ध राख्ने र अन्तरघुलनमा एक अर्कासँग अर्थपूर्ण साझेदारी भएका लक्ष्यहरूलाई सामूहिक रूपमा सम्बोधन गर्न सहज हुने उद्देश्यका साथ दिगो विकास लक्ष्य १६ प्लसको अवधारणा अत्यन्तै आवश्यक ठानिएको हो । यसले यी सबै १६ प्लस लक्ष्यहरूका साझा सवालमा सँग-सँगै ऐक्यबद्धता खोज्दै दिगो शान्ति र न्यायको प्रत्याभूति गराउने मार्ग प्रशस्त गर्ने छ ।
निष्कर्ष :
दिगो विकास लक्ष्यहरूको विश्वव्यापी मान्यतालाई स्थानीय स्तरसम्म सम्पर्क बढाउन आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय विकासमा जोड दिइएको दूरदर्शी दस्ताबेजका रूपमा हेरिएको छ ।
मानव जाति र सिङ्गो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोत साधन उपलब्ध गराउने र जैविक चक्रलाई निरन्तरता दिने अभियानका रूपमा दिगो विकास लक्ष्यलाई मानव जातीको साझा प्रतिबद्धता र घोषणापत्रका रूपमा अङ्गीकार गरिएको दस्ताबेज मानिन्छ ।
उत्पादन, आपूर्ति, उपभोगलाई सन्तुलनमा राखी सम्पूर्ण प्राणी जगत् र समाजलाई जीवन्त राख्न संसारका हरेक मानिसहरूको योगदानलाई एकाकार गर्ने साझा रणनीतिक योजनाका साथ अघि बढ्ने हो भने दिगो विकास लक्ष्यहरू हासिल हुने कुरामा कुनै दुइमत छैन । यसकारण मानवीय कार्यमा जोड दिने र परिवर्तनको बडापत्रका रूपमा सर्वमान्य दिगो विकास लक्ष्यलाई साझेदारी, क्षमता अभिवृद्धि, बजेट र सहकार्यका माध्यमबाट प्रक्रियागत प्रणालीको उपयुक्त विधिबाट प्रयोगमा ल्याइने हो भने लक्षित उपलब्धि हासिल हुने कुरामा स्पष्ट सङ्केत देख्न सकिन्छ ।प्रशासन डटकमबाट
उपाध्याय नेपाल एसडीजी १६ प्लस मञ्चका प्रमुख संयोजक हुन् ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…