बाख्रापालनमा सफल स्याङ्जाका कम्प्युटर इन्जिनियर ।
नारायण विश्वकर्मा/स्याङ्जा :
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपाने सिंगो गाउँपालिकामा उदारहणीय बनेका छन् ।
कम्प्युटर इन्जिनियर भएर पनि गाउँमा फर्किएर व्यावसायिक बाख्रापालन सुरु गरेपछि उनले सबैको प्रशंसा पाएका हुन् । सामान्य पढेलेखेका युवायुवती पनि काम खोज्दै सहर पसिरहेका वेला उनी भने गाउँ फर्किएर राम्रो आम्दानी गरिरहेका छन् ।
न्यौपानेले भारतको पन्जाव टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसन गरेका छन् । ३२ वर्षीय न्यौपानेले व्यक्तिगत लगानीमा स्थापना गरेको भूमिका कृषि तथा पशुपालन उद्योग अहिले कृषकका लागि अध्ययन, अवलोकन र भ्रमण गर्ने थलो बनेको छ ।
कृषि पेसामा पाएको सफलताले आम्दानी र आत्मसम्मान दुवै मिलेको उनले बताए । ‘भारतमा पढ्दै जागिर गर्थेँ, जति मिहिनेत गर्दा पनि जागिरको सीमित तलबबाट आर्थिक समृद्धि नहुने बुझेँ,’ न्यौपानेले भने, ‘आफ्नै व्यवसायमा मिहिनेत गर्न सके आर्थिक समृद्धि मिल्ने ठानेर कृषि व्यवसाय रोजेँ ।’
पढाइ सकेर ०६९ सालमा परम्परागतभन्दा आधुनिक तरिकाले व्यवसाय गर्नुपर्छ भन्ने सोचले तरकारी खेती सुरु गरेको उनले बताए । उनले थपे, ‘घरकै तरकारीबारी र छिमेकीको खेतबारी जोत्न सकिने भएकाले हातेट्रयाक्टर किनेँ । हातेट्रयाक्टरको माग धेरै भएपछि आम्दानी रामै्र भयो । त्यही आम्दानीबाट बाख्रापालन गर्ने सोच बनाएँ ।’
७८ हजारबाट बाख्रापालन सुरु
मंसिर ०७० मा हातेट्रयाक्टरबाट कमाएको ७८ हजार रुपैयाँले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर बाख्रापालन सुरु गरेको उनले सुनाए । ‘चारवटा स्थानीय जातका माउ बाख्रा घरमै थिए,’ उनले सम्झिए, ‘जम्मा आठवटा बाख्राबाट पशुपालन उद्योग दर्ता गरेर औपचारिक व्यवसाय सुरु गरेँ ।’
न्यौपानेले आर्थिक वर्ष ०७१/७२ मा युवा स्वरोजगारअन्तर्गत पशुसेवा कार्यालय स्याङ्जाबाट एक लाख रुपैयाँ अनुदान पाएका थिए । यद्यपि, उनी अनुदानको नाममा सरकारले दिने पैसाको दुरुपयोग भइरहेको बताउँछन् ।
उनले भने, ‘किसानलाई पैसामा होइन, प्रविधिमा अनुदान दिनुपर्छ ।’ साथै, किसानका लागि बैंकले सहज कर्जा प्रक्रियाको व्यवस्थापन गर्नुपर्ने बताउँछन्, उनी । उनले १६ लाखमा बाख्राको आधुनिक खोर बनाएका छन् । यो खोरमा शुद्ध अस्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस गरी ७० वटा बाख्रा राखेका छन् ।
उनले बिउ उत्पादनका लागि मात्रै बाख्रा बेचबिखन गर्ने गरेका छन् । गत वर्ष मात्रै करिब ३० लाखको बाख्रा बेचेको उनले बताए । एक वर्षमा करिब आठ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ छ । न्यौपानेले अहिले बाख्रापालनमा १४ लाख लगानी थपेका छन् । आउँदो वर्ष दुई सय ५० देखि तीन सय बाख्रा अट्ने खोर बनाउने योजना रहेको उनले सुनाए ।
करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओथ्री, सिओफोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, बर्सिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, शीतलचिनीलगायत घाँसखेती गरेका छन् ।
शारीरिक अशक्तताले न्यौपानेलाई छेकेन
वैशाख ०७२ मा घाँस काट्ने क्रममा उनी सालको रूखबाट खसे । त्यो दुर्घटनामा उनको ढाड भाँच्चियो । उनले भने, ‘अहिले पनि ढाडमा सेफ्टी नबाँधी हिँड्डुल गर्न सक्दिनँ ।’ तर, योजनाबद्ध तरिकाले काम गर्ने हो भने शारीरिक दुर्बलता र अशक्तताले केही फरक नपर्ने उनको अनुभव छ ।
विदेशतिर कृषि क्षेत्रमा प्रयोग भइरहेको प्रविधि नेपाल भित्रयाउन सके अझै धेरै फाइदा हुने उनको भनाइ छ । बाख्रामा हाडनाता प्रजनन मात्र रोक्न सके नेपाल सहजै मासुमा आत्मनिर्भर बन्न सक्ने उनको दाबी छ ।
उनको खोरबाट उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीदेखि पश्चिम बर्दियासम्म र पूर्वमा झापासम्म निर्यात हुन्छन् । व्यवसायमा उनलाई श्रीमती उर्मिला न्यौपानेले सहयोग गरिरहेकी छिन् ।
विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने प्रशस्त आर्थिक उपार्जन गर्न सकिने सुझाब उनले दिएका छन् । उनले नेपाल फर्केपछि पनि गर्न सकिने काम रोज्न विदेसिएका नेपालीलाई आग्रह पनि गरेका छन् ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


