साउन महिनाभर छाङ्छाङ्दी-छाँयाछेत्र मन्दिरमा शिवमहिमा र महाआरती गरिने ।
भवानी अधिकारी/स्याङजा :
स्याङ्जाको मध्य भाग स्थित भीरकोट नगरपालिका ४ छाङ्छाङदी छाँयाक्षेत्र शिवमन्दिरमा साउन महिनाभर शिवमहिमा सहित महाआरती हुने भएको छ । मन्दिरको भौतिक संरचना निर्माणका साथै प्रचारप्रसार गर्ने उदेश्य सहित शिवमहिमा एवं महाआरती गरिने भएको हो ।
छाङछाङदी छायाँक्षेत्र सेवा समितिको आयोजना तथा स्याङजा जिल्ला उद्योग वाणिज्य संघको ब्यवस्थापनमा शुक्रवार स्याङजा सदरमुकाममा आयोजित कार्यक्रम मार्फत समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले सो जानकारी दिनुभएको हो । साउन १ गतेदेखि ३२ गतेसम्म बिहान पुजापाठ, दिउँसो संगीतमया शिवमहिमा वाचन र जिल्लामै पहिलो पटक महाआरती साझमा गरिने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
‘स्वयं आफैं उपस्थित भएर वा पितृका नाउमा संकल्प गरेर महाआरती गर्न सकिन्छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘साउनको गरिमा बढाउनुका साथै मन्दिर क्षेत्रलाई पहिला प्रदेश स्तरीय धाम बनाउने दिर्घकालिन लक्ष्य हो ।’
शिव महिमा पंण्डित प्रकाश तिवारी सहितको समूहले संगीतमय वातावरणमा वाचन गर्नुहुने भएको छ । महाआरतीका लागि इच्छुक भक्तजनले ५ हजार रुपैंया बुझाएपछि सामाग्री सबै मन्दिरले ब्यवस्थापन गर्ने जनाइएको छ । मन्दिरले आजीवन सदस्यका लागि जनही ७ हजार र महाआरतीका लागि ५ हजार रुपैंया शुल्क निर्धारण गरेको छ भने ईच्छा र क्षमता अनुरुप सहयोगका लागि समितिको आग्रह छ । ५ हजार चन्दा सहयोगदातालाई सम्मान सहित शिलालेखमा नाम लेखिने भएको छ ।
कार्यक्रममा सेवा समितिका सल्लाहकार गोबिन्दप्रसाद कर्माचार्य, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रस सोसाइटी स्याङजाका मन्त्री दिनेश अर्याल, ब्यवसायी ढाकाराम सुवेदी लगायतले पुनित कार्यका लागि ब्यक्तिगत एवं संस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं महासचिव भिमकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
स्याङजाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र (छाङ्छाङ्दी) मन्दिरमा दिनहुँ भक्तजनहरुको घुइचो लाग्छ । साउनको महिना सुरुभएसंगै विहानै ४ वजेदेखि नै भक्तजनहरुको भिड लाग्ने गर्दछ । सोमबारे ब्रत बस्ने ब्रतालु तथा हिन्दुधर्मालम्बीहरु यही मन्दिर आएर स्नान गरी ब्रतको प्रारम्र्भ गर्दछन् । विवाहित महिला, पुरुष, अविवाहिता महिलाहरुले आफनो मनाकामना पुरा होउस् भन्दै परिवारकोे सुस्वास्थ्य र दिर्घायुको कामना सहित सोमबारे ब्रतको आरम्भ गर्ने गर्दछन् ।
‘माघ महात्मे श्रीस्वस्थानी ब्रतको पौणारिक कथा अनुसार दक्षप्रजापतीले आफना पति शिवलाई गरेको अपमान सहन नसकेर बलिरहेको यज्ञकुण्डमा हामफालेर देहत्याग गरेकी सतीदेवीलाई बोकेर हिड्दा छाङ्छाङ्दीमा सतीका अन्तिम भाग पतन भएको किबंदन्ती छ । पत्नीको आत्मदाहवाट बियोग बनेका शिवले सतीदेवीलाई बोकेर पृथ्वी परिक्रमा गर्दा उनका अंगहरु जहाँ जहाँ झरे त्यँही त्यँही स्थानमा धार्मिक प्रवित्र स्थल बनेको भन्दै अझै पुजा गर्ने चलन रहीआएको छ ।
पोखरा — सुनवल अन्र्तगत सिद्धार्थ राजमार्गको छेवैमा रहेको छाङ्छाङ्दी मन्दिर ६० रोपनी क्षेत्रफलमा बिस्तार छ । मन्दिर ब्यवस्थापनका लागि गुरुयोजना बनाएर अघि बढेको छ । मन्दिरमा आउने श्रद्धालु भक्तजनका लागि आवासगृह, भोजनालयको निर्माणकार्य भैरहेको छ । यसैगरी, श्रद्धालु भक्तजन तथा अवलोकनकर्ताका लागि मन्दिरमा आउने जाने दोहोर मार्ग, खानेपानी तथा शौचालयको समेत राम्रो सुबिधा छ ।
सिद्धार्थ राजमार्गमै रहेको छाङ्छाङ्दी मन्दिरको प्रवेशद्धारबाट छिरेपछि करिब ५ सय मीटरभन्दा पर उचाईंमा मन्दिर स्थापित छ । ठूलो पहरा अनि छङ्छङ् गर्दे बगेकी छहरा मन्दिर भित्रबाट बगेकी छिन । श्रद्धालुभक्तजनहरु मन्दिरमा प्रवेशसंगै पहिला छहरामा स्नानगरी पुजाआजा गर्नेगरिएको छ । ‘सतीलाई बोकेर हिडेका शिवले भित्तामा प्रहार गर्दा छहरा बनेर पानी बगेको भन्ने धार्मिक किंवदन्ती छ । सो छहराबाट छङछङ गर्दै बाह्रै महिना छहरा बग्ने गर्दछ । छङ्छङ गर्दै पानी बगेका कारण सो धार्मिक क्षेत्रलाई छाङ्छाङ्दी भनिएको हो ।
मन्दिरमा पुजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास छ । यहाँ स्याङ्जा लगायत अन्य जिल्लाहरुवाट समेत दर्शनार्थी आउने गरेकाछन् । मन्दिरमा मनोकांक्षा पुरा गर्नका लागि भाकल गर्ने र भाकल पुरा भएपछि पुनः पुजा गर्न आउनेपनि उल्ल्ोख्य हुने गरेको मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार गोबिन्दप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।
स्याङ्जा सदरमुकामदेखि छाङ्छाङ्दी करिब २० किलोमीटर दक्षिणमा पर्दछ । छाङ्छाङ्दी मन्दिर तथा छाँया क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना अनुरुप काम भैरहेको छ । छाङ्छाङ्दीको उत्पतीदेखि हालसम्म मन्दिरमा स्वस्थानी ब्रतकथा अवधिभर (माघ महिना), शिव व्रत (साउन महिनाभर), महाशिवरात्री, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कृष्णजन्माष्टमीका दिन दर्शनार्थीको अत्यन्त भीड लाग्ने गर्दछ । मन्दिर ब्यवस्थापन समितिले विवाह, व्रतबन्ध र रुद्री लगायत अन्य आवश्यकीय पुजा गर्न सकिने ब्यवस्था समेत मिलाएको छ । मन्दिरमा भीडभाड, हुलहुज्यत हुन नदिन दर्जनौं स्थानीय स्वयंसेवक खटीएका हुन्छन ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …