वालिङलाई देशकै पहिलो‘स्मार्ट सिटी’ बनाउँछौं

२०५३ सालमा साविकको वालिङ, पेखु बाघखोर र धनुबाँसे गाविस मिलाएर वालिङ नगरपालिका स्थापना गरिएको हो । राज्यको पुनःसरचना अनुसार थुमपोखरा, केवरेभन्ज्याङ, माझकोट शिवालय, एलादी, सिर्सेकोटका सबै वडा र छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, तिन्दोबाटे, मनकामना, पेलाकोटलाई समायोजन भई हालको वालिङ नगरपालिका बनेको हो । प्रस्तुत छ, नगरपालिकाको विकास निर्माण, योजना लगायत विषयमा नगर प्रमुख दिलीपप्रताप खाँणसँग पत्रकार तोलाकान्त बगालेले गरेको कुराकानीको सार :

तपाईं नगर प्रमुख भएर आएपछि यहा“का जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकामा विकास निर्माणको स्पष्ट खाका तयार गरेका छौं । सोही अनुसार भौतिक पूर्वाधारका कार्यहरूको थालनी गरिएको छ । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित गरेका छौं । नगरवासीका आधारभूत आवश्यकता पूरा गर्न उहाँहरूकै चाहना बमोजिम अगाडि बढेका छौं । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, शुद्ध प्रशोधित खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी भइरहेको छ भने एकीकृत बस्ती विकास, सरसफाइ, शिक्षामा गुणस्तर वृद्धि गर्नुका साथै आधुनिक प्रविधिलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छौं । वालिङ नगरपालिकाले ‘स्मार्ट सिटी’ निर्माणका लागि कदम अगाडि बढाएको छ । वालिङको गन्तव्य भनेको ‘स्मार्ट सिटी’ हो । अहिले पाइला मात्र चालेका छौं । यो पूरा हुन झन्डै १९ वर्ष लाग्ने अनुमान गरेका छौं । आशा छ वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौं ।

पूर्वाधार विकासमा के कस्ता काम भइरहेका छन् ? निर्माणाधीन ठूला आयोजनाको कार्यप्रगति कस्तो छ ?
पूर्वाधार निर्माण गर्दा दूरगामी सोचका साथ अगाडि बढिरहेका छौं । हाम्रा नयाँ पुस्ताका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जाल, खानेपानी प्रणाली, सिँचाइ प्रणालीमा दिगो विकासलाई लक्षित गरी योजना बनाएका छौं । वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरूमा कोरिडोर सडक निर्माण, ताल तलैया निर्माण, पानीको भू–सतही उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थल र मनोरम पार्क निर्माणलाई प्राथमिकता दिएका छौं । त्यस्तैगरी सुनौली–पोखरा सडक (सिद्धार्थ राजमार्ग) वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ । नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टू लेन’ बनाउने कार्य भइरहेको छ । जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुवै किनाराबाट आँधीखोला कोरिडोर निर्माण गर्दै छौं । नगरका विभिन्न वडाका गाउँमा बाह्रैमासे सवारीसाधन सञ्चालनका लागि ग्रामीण सडकको निर्माण तथा स्तरोन्नति भइरहेको छ । १८ ओटा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वालिङमा सुविधासम्पन्न अस्पतालका लागि जग्गा खरीद गरी निर्माण प्रक्रिया थालिएको छ भने ‘हाइवे मोबाइल अस्पताल’ निर्माणको चरणमा छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडा वडामा खानेपानीका योजनाहरू सञ्चालन भएका छन् । आधुनिक प्रविधिलाई पछ्याउँदै आईटी र आईओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौं । फोहोर मैला व्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको यस नगरपालिकाले वालिङ ९ सुर्कौदीमा एकीकृत बस्ती विकासको डीपीआरलाई अन्तिम चरणमा पु¥याएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीलाई बीउ पूँजी उपलब्ध गराएका छौं भने गाउँ गाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको व्यवस्था मिलाएका छौं ।
 

Dilip_khand


विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
स्थानीय जनतासँग प्रत्यक्ष जोडिने सरकार स्थानीय सरकार भएकाले स्थानीयहरूको असीमित चाहना छन् । असीमित चाहना योजना पूरा गर्न हामीसँग सीमित स्रोतसाधन छन्, जसले गर्दा विकास बजेट कार्यान्वयनमा समस्यासँगै चुनौतीको पनि सामना गर्नुपरेको छ । समस्याभित्र समाधान पनि हुने भएकाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गरी अगाडि बढ्दै छौं ।

शिक्षा स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि नगरले कसरी काम गर्दै छ ?
वालिङ नगरपालिका कृषि र पशुपालनमा जोड दिनेगरी ‘एक गाउँ, एक उत्पादन’ ‘एक सहकारी, एक उत्पादन’को नीति लिएर अगाडि बढेको छ । हरेक घर उत्पादनसँग नजोडिँदासम्म आर्थिक समृद्धि हासिल हुन सक्दैन । त्यसैले आम्दानी वृद्धिका लागि कृषि, पशुपालन र उद्यमीमा तालीम दिएर स्वरोजगार बनाउने कार्यमा केन्द्रित छौं । कृषकहरूलाई उत्पादन वृद्धि गर्नेतर्फ अभिप्रेरित गर्दै उत्पादित वस्तुको बजारीकरणको व्यवस्था समेत गरिदिने नीति लिएका छौं । शिक्षित बेरोजगारलाई लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरेका छौं ।

साथै आवश्यक तालीम र समयको माग अनुसारका प्राविधिक धारका व्यावहारिक कक्षाहरू सञ्चालनमा जोड दिइएको छ । नगरपालिकामा उच्च प्रविधियुक्त ज्ञानकेन्द्र तथा ‘इनोभेशन सेन्टर’ खोलिएको छ । स्वास्थ्यको क्षेत्रमा प्रत्येक २५ मिनेटको पैदल दूरीभित्र हरेक नागरिकको पहुँचमा पुग्नेगरी स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ भने स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा परिचालन गरिएको छ । नगरपालिकाका विभिन्न पाँच स्थानमा औद्योगिक ग्राम स्थापना गर्न कार्यपालिका बैठकले स्थानको छनोट गरेको छ । पहिलो चरणमा वालिङ १० बैंडीमा औद्योगिक ग्राम स्थापनाको काम थालिएको छ ।
 
शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
वालिङ नगरपालिकामा जनसंख्याको चाप बढ्दै गएकाले अब बन्ने संरचना आधुनिक, सुविधासम्पन्न र दीर्घकालीन हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेका छौं । सोही अनुसार आधुनिक तथा नयाँ शहर निर्माणमा थालेका छौं । वालिङ ९ सुर्कौदीमा एकीकृत बस्ती विकास तथा नयाँ शहर बसाल्ने तयारीका साथ डीपीआर अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधारको हिसाबले दिगो शहरी व्यवस्थापन जोड दिँदै अघि बढेका छौं ।

तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
वालिङ नगरपालिकाको कार्य गर्ने क्षमता विकासको आधारभूत संरचना तयार गरिएको छ । जिम्मेवारी तथा दायित्वबोधको भावनाको विकास भएको छ । प्राविधिक जनशक्तिको विकास र दिगो विकासका लागि आवश्यक पर्ने उपकरणदेखि संसाधनसम्मको विकसको क्रममा रहेकाले लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ ।

स्थानीय तहमा राजनीतिक दलहरूलाई विकासको मुद्दामा सहभागी बनाउन तपाईंको भूमिका के हुन्छ ?
वालिङ नगरपालिकाको विकासका लागि यहाँको राजनीतिक दलहरूको सहकार्य र एकता नै महत्त्वपूर्ण कुरा हो । निर्वाचनका बेला विभिन्न राजनीतिक दलबाट निर्वाचित भएर हामी जनप्रतिनिधि आएका हौं । तर वालिङको विकासका लागि सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर निर्णय लिने गरेका छौं । यसले पनि वालिङको विकासका लागि सहयोग पुगेको छ । वालिङ नगरपालिकाको प्रवेशद्वारबाट भित्र छिरेपछि को कुन दलबाट विजयी भएर आएको हो भन्ने नभई समग्रमा सबैको चिन्ता वालिङको विकासमा रहेको पाएको छु, जुन यहाँको उदाहरणीय र सकारात्मक पाटो हो । (साभार -आर्थिक अभियान दैनिक)

Facebook Comments Box
TOP